ईश्वरपुर–१६ औँ गणतन्त्र दिवसको अवसरमा सर्लाहीको ईश्वरपुरमा आयोजित नि:शुल्क स्वास्थ्य शिविरमा सयौँले सेवा लिएका छन् ।
गणतन्त्र दिवसको अवसरमा बुधबार ईश्वरपुर नगर अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । शिविरमा ३६७ जनाले स्वास्थ्य उपचार गराएका आयोजक संस्था स्थानीय समाज विकास केन्द्र हरिपुर–१, का प्रतिनिधि अर्जुन थापाले जानकारी दिए ।
शिविरमा १९५ जना आँखाका, ९० जना यूभी प्रोल्याप्स अर्थात पाठेघर सम्बन्धी समस्याका, ४ जना दाँत सम्बन्धी र ८७ जना अन्य रोगको विमारी उपचारका लागी शिविरमा आएका ईश्वरपुर नगरपालिकाले जनाएको हो । मधेश हस्पिटल प्रा.लि. जनकपुरका चिकित्सकको टोली उपचारमा खटिएका थिए ।
चेक जाँचका क्रममा २५ जना आँखाका र १७ जना पाठेघरको शल्यकृया गर्नु पर्ने विमारी फेला परेका स्थानीय समाज विकासका थापाले जानकारी दिए । उनीहरु सबैजनालाई नि:शुल्क शल्यकृयाका लागि जनकपुर लगिने उन्ले जानकारी दिए । उपचार वापतको सम्पुर्ण खर्च संस्थाले ब्यहोर्ने भएको छ ।
हेल्पिङ हेण्ड फर रिलिफ एण्ड डेप्लपमेण्टको आर्थिक सहयोगमा संचालन भएको शिविरको व्यवस्थापन ईश्वरपुर नगरपालिकाले गरेको हो । विपन्नताका कारण यस क्षेत्रका धेरै नागरिकले स्वास्थ्य सेवा समेत नपाएका कारण शिविर आयोजना गरिएको आयोजक संस्थाले जनाएको हो ।