राजु तामाङ,हरिवन–सर्लाहीको हरिवनमा आदिवासी जनजाती महासंघको आयोजनामा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार हरिवन नगरपालिका स्थित सम्राट होटल सभाहलमा अशन्न नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको हो । आदिवासी जनजाती समुदायको भाषा, धर्म, संस्कृतिको संरक्षण र संवर्द्धन लगायत पहिचान पुनर्स्थापना आजको आवश्यक्ता रहेको बक्ताहरुको भनाई थियो । अधिकार प्राप्तिका लागि सबैखाले संघर्षको कार्यक्रमहरुमा एक्यवद्धता सहित अघि बढ्नु पर्नेमा जोड दिए ।
आफ्नो हक अधिकार पहिचानको सवालमा समेत सचेत बन्दै सचेतना फैलाउनु पर्ने उनीहरुको भनाई थियो । आदिवासी जनजाति लगायत जाती गत संघ संस्थाहरुले थप अझ सशक्त बन्दै जानुपर्ने अधिकांशको धारणा थियो । नेपाल बहुभाषी, बहुजाती, बहुसंस्कृति र बहुधार्मिक रहेको सबै समुदायको समान सहभागीता, पहुँच र प्रतिनिधित्व हुनुपर्ने उनीहरुको माग थियो ।
युवा महासंघका जिल्ला अध्यक्ष सुमन मोक्तानको अध्यक्षता र महासंघकै केन्द्रीय सदस्य तथा मधेस प्रदेश इन्चार्ज संजिव कुमार मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा संविधान सभा सदस्य तथा पूर्व मन्त्री शम्भु लाल श्रेष्ठ, प्रदेश सांसद बेची लुङ्गेली, नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र लामा, हरिवन नगर उपप्रमुख हरिमाया घलान, बागमती नगर उपप्रमुख लिला कुमारी मोक्तान लगाएतको आतिथ्यता रहेको थियो ।
यस्तै नेपाली कांग्रेसकी प्रदेश सदस्य सोनी कुमारी बोम्जन, नेकपा एमालेकी प्रदेश सदस्य सरिता घिसिङ, नेकपा माओवादी केन्द्रकी जिल्ला सदस्य पद्मा मोक्तान, हरिवनका वडाध्यक्ष द्वय अर्जुन योन्जन र सन्तलाल घिसिङ विभिन्न जातिगत संस्थाका अध्यक्षहरु प्रतिनिधि लगायतको उपस्थिति रहेको कार्यक्रम संचालक राजु लो तामाङले जानकारी दिए ।