सर्लाही–राष्ट्रिय अभियान अन्तरगत सर्लाहीमा ८ लाख बढिलाई हात्तीपाईले बिरुद्धको औषधी खुवाउने तयारी भएको छ ।
जिल्ला भरीका २ बर्ष उमेर समुह माथिका ८ लाख २४ हजार ६७१ जनालाई हात्तीपाईले बिरुद्धको औषधी सेवन गराउने तयारी भएको स्वास्थ्य कार्यालय मलंगवाका प्रमुख डाक्टर नवलकिशोर झाले जानकारी दिए । अभियानको बारेमा जानकारी दिन मंलगबार स्वास्थ्य कार्यालय मलंगवामा हात्तीपाईले रोगको आम औषधी सेवन अभियानको जिल्ला स्तरिय अन्तरकृया कार्यक्रम आयोजना गरिएको थियो ।
सर्लाहीमा बैशाख १६ गते देखी २९ गते सम्म अभियान संचालन गरिने जानकारी गराईएको थियो । अभियानमा ५ सय २५ जना स्वास्थ्यकर्मी र एक हजार ३ सय २६ जना महिला स्वास्थ्य स्वयमसेवीकाहरु परिचालन गरिने भएको छ । हात्तीपाईले रोगका बिरुद्धको औषधी गर्भवती महिला, ७ दिन सम्मका सुत्केरी, गम्भिर किसिमका विमारी लगाएतले सेवन गर्न नहुने डाक्टर झाले बताए ।
अन्य सबैले हात्तीपाईले रोगबाट बच्न अनिवार्य रुपमा औषधी सेवन गर्नु पर्ने चिकित्सकहरुको भनाई छ । औषधी सेवनको क्रममा जिल्ला हाल सम्म कुनै किसिमको गम्भिर समस्या नदेखीएकोले निर्धक भएर औषधी सेवन गर्न स्वास्थ्य कार्यालय मलंगवा सर्लाहीले सबैमा आग्रह गरेको छ । अपुष्ट भ्रमहरुका कारण समाजमा औषधी सेवनमा लापर्वाही हुने र परिणाम स्वरुप हात्तीपाईलेको संक्रमण हुने भएकाले सचेत रहन आग्रह समेत गरिएको छ ।
स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार गत बर्ष पनि यस जिल्लामा ७ लाख ६२ हजार ६८४ जनालाई हात्तीपाईले बिरुद्धको औषधी खुवाईएको थियोे । जिल्लाका सत प्रतिशतलाई औषधी खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको हो । यो अभियान अन्तरगत देश भरी गरेर ७ वटा जिल्लामा औषधी खुवाउन लागिएको हो । त्यस मध्य सर्लाही सहित मधेशका चार जिल्ला समेटिएको छ ।
सर्लाहीमा हाल सम्म एक हजार ४ सय ७५ जना हात्तीपाईले रोगका विमारी रहेका स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको हो । उनीहरु लामो समय देखी संक्रमित भई उपचार गराईरहेका हुन् । जिल्लामा पछिल्लो समय नयाँ संक्रमित नगन्य मात्रामा फेला पर्ने गरेका तथ्यांकमा उल्लेख गरिएको छ । हात्तीपाईले रोग संक्रमितलाई टोकेको क्यूलेस लामखुट्टेले अन्य मान्छेलाई टोकेपछि यो संक्रमण फैलने गर्दछ ।
जनचेता तथा औषधी उपचारका कारण संक्रमण घट्दै गएको स्वास्थ्य कार्यलय सर्लाहीका भेक्टर कन्ट्रोल निरिक्षक मनोज झाले जानकारी दिए ।