सर्लाही– देशैभर एक साथ सुरु भएको कक्षा १२ को परीक्षामा सर्लाहीबाट ७ हजार बढि परीक्षार्थी सहभागि भएका छन् ।
शुक्रबारबाट सुरु भएको १२ कक्षाको परीक्षामा जिल्लाबाट ७ हजार ३ सय ३० जना परीक्षार्थी सहभागि भएका हुन् । उनीहरुले पहिलो दिनको परीक्षामा अनिवार्य अंग्रेजी विषयको परीक्षा दिदै छन् । परीक्षाको लागि जिल्लामा २८ वटा परीक्षा केन्द्र कायम गरिएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रामवृक्ष महतोले जानकारी दिनुभयो ।
२७ वटा सामुदायिक र एउटा निजी गरेर २८ वटा बिद्यालयबाट परीक्षार्थीहरुको परीक्षा दिएका हुन् । जिल्लाका ६२ वटा सामुदायिक मावि, २३ वटा संस्थागत मावि र ३ वटा क्याम्पस गरी ८८ वटा शैक्षिक संस्थाबाट बिद्यार्थीहरु परीक्षामा सहभागि भएका छन् । परीक्षाका लागि २८ जना केन्द्राध्यक्ष र ५६ जना सहायक केन्द्राध्यक्ष तोकिएका छन् ।
यस्तै २८ जना परिक्षा सहायक, २ सय ९३ जना परीक्षा निरिक्षक र सोही संख्यामा कार्यलय सहायक समेत परिचालन गरिएको शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक सुनिल कुमार कुशवाहले जानकारी दिनुभयो । परीक्षा मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्ने व्यवस्था मिलाईएको जिल्ला परीक्षा समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिनुभयो ।