बलरा–सर्लाहीको बलरा नगरपालिका स्थित मिर्जापुरमा भएको आगलागीबाट बिहेको सामान सहित लाखौँको क्षती हुनुका साथै दुईजना घाईते भएका छन् ।
मंगलवार गएराती बलरा नगरपालिका–६, मिर्जापुरका रामचन्द्र महतोको खपडाले छाएको घरमा बिद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीबाट घरमा रहेको अन्नपात लत्ता कपडा सहित छोरीको विवाहको लागी राखेको सम्पुर्ण सरसामाग्री जल्दा ६ लाख बराबरको क्षती भएको छ ।
मध्यराती महतोको घरमा आगोलागेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए । आगोले पोलेर घरधनी महतो सहित दुईजना घाईते समेत भएका छन् । घर भित्र रहेका सामान निमाल्न खोज्दा महतोको दुवै हत्केला र खुट्टामा तथा अर्का स्थानीय २३ बर्षका राज मंगलको दाईने हात र पिठ्यूमा आगोले पोलेको हो ।
उनीहरु दुवैको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको प्रहरीले जनाएको हो । आगलागीबाट महतोको घरमा समेत ठुलो क्षती पुगेको प्रहरीले जनाएको छ । छोरीको विवाहको लागि ऋण गरेर जम्मा गरेको सरसामान जलेर खरानी भएपछि महतो परिवार चिन्तामा परेका छन् ।
यस्तै गएरातीनै जिल्लाको कविलासी नगरपालिका–२, पिपरीयामा भएको आगलागीबाट स्थानीयको ८० हजार मुल्य बराबरको परालको कुन्यू जलेर नष्ट भएको छ । आगलागिबाट सोही स्थानका बारिस शेख, ह्रदय राय, बहादुर राय र विजिन्दर पासवानको परालको कुन्यू जलेर खरानी भएको हो ।
दुवै स्थानमा लागेको आगो स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र बारुणयन्त्रको सहायतामा नियन्त्रणमा आएको प्रहरीले जनाएको हो ।