मलंगवा–सर्लाहीको मलंगवामा राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तरगत जिल्ला स्तरीय योजना तथा तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
बिहिबार मलंगवा नगरपालिका स्थित सुजाता होटल तथा पार्टी प्यालेसमा ‘आम औषधि सेवन अभियान’ अन्तरगत सरोकारवाला निकाय संग छलफल गरिएको हो । गोष्ठीमा हात्तीपाईले रोगको जिल्ला गत अवस्था, रोकथामका पहल, अभियानको रणनीतिको बिषयमा समेत चर्चा गरिएको स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डाक्टर नवल किशोर झाले जानकारी दिए ।
गोष्ठीमा हात्तीपाईले बिरुद्धको औषधी खुवाउने कार्यक्रमको प्रभावकारिता सामाजिक दृष्टिकोण तथा रणनीतिको बिषयमा समेत सहभागिहरुले आ–आफ्ना भनाई राखेका आयोजकले जनाएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति सभापति कौशल किशोर सिंह, विभिन्न पालिका प्रमुख तथा उपप्रमुख, प्रशासकिय अधिकृत, स्वास्थ्य शाखा प्रमुख लगाएत सहभागि भएका थिए ।
राष्ट्रिय अभियान अन्तरगत सर्लाहीमा पनि २०८१ वैशाख १६ गते देखि हात्तीपाईले रोग विरुद्धको औषधी खुवाईदै छ । अभियानको पहिलो चरण सर्लाही सहित झापा, धनुषा, महोत्तरी, रौतहट, रसुवा र कपिलवस्तु गरी ७ जिल्लामा सन्चालन हुने उल्लेख छ । यस अभियानमा लक्षित जनसंख्या ५० लाख ७८ हजार बढिलाई औषधी खुवाउन करिब ६ हजार जना स्वास्थकर्मी परिचालन हुने स्वास्थ्य कार्यालयका प्रमुख झाले बताए ।