राजु तामाङ, हरिवन-सर्लाहीआदिवासी जनजाति युवा महासंघ नेपाल सर्लाहीको अध्यक्षमा सुमन मोक्तान चयन भएका छन् ।

सोमबार हरिवन नगरपालिका–५, घुर्कौली स्थित जनजाती भवनको सभाहलमा सम्पन्न प्रथम जिल्ला भेलाले मोक्तानको अध्यक्षतामा १३ सदस्य जिल्ला कमिटि गठन गरेको हो । ‘मातृभाषा, संस्कार संस्कृतिको संरक्षण र सम्बर्द्धनका लागि हाम्रो अभियान’ भन्ने नारा चेतना सन्देश नेपालका अध्यक्ष सुरेन्द्र लामाको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो ।
यस्तै भेलाले उपाध्यक्षमा टिकाराम सुस्लिङ मगर, महिला उपाध्यक्षमा अंजिता भुजेल, सचिवमा सुमित्रा पाख्रिन, सहसचिवमा अरुण ब्लोन र आइसा दनुवार, कोषाध्यक्षमा दिपक माझी तथा सदस्यहरुमा निका आले, रवि गुरुङ, रोशन मोक्तान, अशोक घिसिङ, सुरज घलान र रोशन दोङलाई चयन गरेको केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज संजीब मोक्तानले जानकारी दिए ।
कार्यक्रमका अधिकांस बक्ताहरुले पछिल्लो केही समय देखि जनजाति अभियान सुस्त भएको भन्दै थाकेर बस्ने छुट नभएको बताए । कार्यक्रममा आदिवासी जनजातिको सवालमा इतिहास, वर्तमान र संघर्षका चरणहरुको विषयमा समेत चर्चा गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लामा सँगै लेखक तथा खोज अनुसन्धानकर्ता निष्णु थिङ, तामाङ घेदुङका केन्द्रीय सदस्य जयमान पाख्रिन, मगर संघ मधेस प्रदेशका महासचिव तेज नारायण आले, आदिवासी जनजाति महासंघका सर्लाहीका अध्यक्ष एक बहादुर गुरुङ, तामाङ घेदुङका अध्यक्ष बुद्ध थिङ, मगर संघका अध्यक्ष पूर्ण रानामगर, महासंघका सचिव तथा भुजेल समाजका प्रतिनिधि दिपक भुजेल र नेपाली कांग्रेसकी मधेस प्रदेश सदस्य महिला नेतृ सोनी कुमारी बोम्जन लगायतको आतिथ्यता रहेको थियो ।

