लालबन्दी–माझी समुदायको महान पर्व लदी पुजाको अवसरमा नेपाल माझी उत्थान संघले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार लालबन्दी नगरपालिका–५, स्थित कालिका सामुदायिक बन क्षेत्रमा नेपाल माझी उत्थान संघले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रम संघका केन्द्रिय महासचिव बबिन्द्र माझीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको संघका सर्लाही जिल्ला अध्यक्ष राज कुमार कुशवारले जानकारी दिए ।
शुभकामना आदानप्रदान कार्यक्रम पुर्व आफ्नो भेषभुषा सहित उपस्थित माझी स्थानीयले र्याली समेत गरेका थिए । लालबन्दी नगरपालिका स्थित ढुमढुमे मन्दिरबाट कार्यक्रम स्थल सम्म विभिन्न नारासहित र्याली गरिएको आयोजक संघका जिल्ला अध्यक्ष ललित बहादुर माझी (सुसन)ले बताए ।
र्यालिमा सहभागिहरुले माझी समुदायको मौलिक पर्व लदीको अवसरमा स्थानीय बिदा घोषणा गर, संस्कार संस्कृति संरक्षण गरौँ, लदी पुजा सफल पारौँ जस्ता नारा लेखीएका प्लेकाड समेत प्रदर्शन गरेका थिए । शुभकामना आदानप्रदान कार्यक्रममा जिल्ला भरीका माझी समुदायको उपस्थिती रहेको थियो ।
कार्यक्रममा अधिकांश बक्ताहरुले माझी समुदायको उत्थानको लागि नेतृत्व तह सम्म पहुच विस्तार गर्नु पर्नेमा जोड समेत दिए । उनीहरुले आफ्ना समुदायका माझी समुदाय शैक्षिक क्षेत्रमा पछाडि रहेका कारण शैक्षिक जागरण फैलाउनु पर्नेमा कार्यक्रमका बक्ताहरुको जोड रहेको थियो ।
सर्लाहीको बागमती, हरिवन, लालबन्दी, ईश्वरपुर, बरहथवा र हरिपुर नगरपालिका क्षेत्रमा माझी समुदायको बसोबास रहेको छ । जिल्ला भरी गरेर ९ सय घरधुरी माझी समुदाय रहेका नेपाल माझी उत्थान संघको तथ्याङक छ । मधेश प्रदेश भरीमा २९ हजार ५ सय ९९ जना माझी रहेका २०७८ को जनगणनाको तथ्याङमा उल्लेख छ ।
शुभकामना आदानप्रदान कार्यक्रममा लालबन्दी नगरपालिका–१६, का वडाध्यक्ष गणेश बहादुर थापा, वडानम्बर ५ का वडाध्यक्ष मिन प्रसाद ढुंगेल लगाएतको आतिथ्यता रहेको थियो ।
लदी पुजा मंगलवार
माझी समुदायको मौलिक पर्वको रुपमा रहेको लदी पुजा यस बर्ष मंगलवार मनाईने भएको छ ।
मंगलवार माझी समुदायले देशै भरी लदी पुजा गर्न लागेका हुन् । लदी पुजाको दिन माझी समुदायले आफ्नो बासस्थान नजिकै रहेको नदी, खोला नालाको मौलिक बिधि अनुसार पुजा आरधना गर्ने गर्दछन् । नदीमा माछा मार्ने तथा डुंगा खियाएर जिविका चलाउने भएकाले माझी समुदायले नदीलाई देवताको रुपमा पुजा गर्दछन् ।
लदी पुजा गर्नाले बर्षभरी परिवारमा दुख दरिद्रता नपर्ने, शान्ति छाउने तथा नदीमा गरिने कर्म (डुंगा खियाउने, माछामर्ने) गर्दा विपत्ती नआउने जनविश्वास रहदै आएको छ । मंगलवार जिल्लाका विभिन्न पालिकाहरुका माझी समुदायले पालिका–पालिकामा जम्मा भएर लदी पुजा गर्ने तयारी गरेका नेपाल माझी उत्थान संघ सर्लाहीका उपाध्यक्ष कुशवारले बताए ।
लदी पुजाको अवसरमा विगतका बर्षमा माझी समुदायले बागमती नदि किनार तथा भरत ताल परिसरमा भब्य सास्कृतिक कार्यक्रम गर्दै आएका थिए । मगर समुदायले प्रतेक बर्ष फागुणको तेस्रो मंगलवारको दिन लदी पुजा गर्ने गर्दछन् ।
लदी पुजा तथा मगर दिवसको अवसरमा लालबन्दीमा स्थानीय बिदा
सर्लाहीको लालबन्दी नगरपालिकाले लदी पुजा तथा मगर दिवसको अवसरमा स्थानीय विदा घोषणा गरेको छ ।
नगरपालिकाले मगर समुदायको ४१ औँ स्थापना तथा राष्ट्रिय एकता दिवस र माझी समुदायको लदी पुजाको अवसर पारेर स्थानिय बिदा दिएको जनाएको हो । नगपालिकाकी उपमेयर कल्पना माया पाख्रिनले सूचना जारी गर्दै मगर स्थापना तथा एकता दिवस र लदी पुजाको अवसरमा सम्पुर्ण नगरवासीमा शुभकामना ब्यक्त गरिन ।
यो सगैँ लालबन्दी नगर क्षेत्रमा मंगलवार सम्पुर्ण शैक्षिक संघ संस्था तथा नगरपालिका र मातहतका कार्यलयहरु बन्द रहने भएका छन् । दुवै समुदायको संस्कार संस्कृतिको सम्मान गर्दै स्थानीय बिदा घोषणा गरिएको उपमेयर पाख्रिनले जानकारी दिईन् ।