सर्लाही–सर्लाहीको बरहथवामा रहस्यमय सवारी दुर्घटनामा मृत्यु भएका तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेलाई सरकारले सहिद घोषणा गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नेता वाग्लेलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । मिटरब्याज बिरोधी अभियान सञ्चालन गर्दै गरेका वाग्लेको २०७७ साल माघ २१ गते राति सर्लाहीको बरहथवा नगरपालिका अन्तरगत बरहथवा– नयारोड सडक खण्ड स्थित मुर्तिया जंगलमा भएको रहस्यमय सवारी दुर्घटनामा मृत्यु भएको थियो ।
प्रहरीले बर्ष दिन पछि वाग्ले सवार मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको तथ्य बाहिर ल्याएको थियो । घटनामा संलग्न भनिएको ट्रयाक्टर र चालकलाई समेत नियन्त्रणमा लिएको प्रहरीले दावि गरिरहेको छ । तर, परिवारका सदस्य र उनी आबद्ध पार्टी नेकपा माओवादी केन्द्रले भने सुनियोजित दुर्घटनाबाट वाग्लेको ज्यान गएको दाबी गर्दै आएको छ ।
५१ बर्षका स्वर्गिय वाग्ले घटनाको सीआईबीले समेत छानविन गरेको थियो । तर, सीआईबीको प्रतिवेदन भने अझै सार्वजनिक गरेको छैन् । वाग्लेको रहस्यमय मृत्युको माओवादी केन्द्रले पनि छानविन गरेको थियो । माओवादीका केन्द्रीय सदस्य प्रल्हाद बुढाथोकी संयोजक रहेको छानविन समितिले पनि वाग्लेको मृत्युलाई रहस्यमय रहेको निष्कर्ष निकालेको छ ।
नेता वाग्लेको तत्कालीन प्रधानमन्त्री केपी ओलीकोे संसद् विघटन विरुद्ध पाँच राजनीतिक दलले बरहथवामा आयोजना गरेको राँके जुलुस सहितको विरोध सभालाई सम्बोधन गरेर फर्कने क्रममा एकान्त जंगलमा भएको रहस्यमय सवारी दुर्घटनामा मृत्यु भएको थियो ।