ईश्वरपुर–सर्लाहीको ईश्वरपुरमा आयोजित बृहत आँखा जाँच शिविरमा ठुलो संख्यामा मोतियाबिन्दुको शल्यकृया गरिएको छ ।
ईश्वरपुर नगरपालिका–६, स्थित नगर अस्पताल पसिरमा रहेको आँखा उपचार केन्द्रमा शिविर आयोजना गरिएको थियो । चार दिन सम्म चलेको शिविरमा २ सय ५ जना महिला र २ सय ३ जना पुरुष गरी ४ सय ८ जनाको मोतियाबिन्दुको शल्यकृया गरिएको हो । यस पहिला संचालन भएको आँखाको स्कृनिङमा १ हजार ८ सयले आँखा चेक जाँच गराएका आयोजक नेपाल नेत्र ज्योती संघ भरतपुर आँखा अस्पताल चितवनले जनाएको हो ।
शिविर अन्तरगत नेत्र प्राविधिकहरुको टोलीले हरिपुर्वा नगरपालिका, हरिपुर नगरपालिका, लालबन्दी नगरपालिकाको नवलपुर र ईश्वरपुर नगरपालिका स्थित नगर अस्पताल परिसरमा सहभागिहरुको स्कृनिङ गरेका थिए । शिविरबाट फेला परेका मोतियाबिन्दुका बिमारीको बयलवास स्थित नगर अस्पतालमा शल्यकृया गरिएको ईश्वरपुर स्वास्थ्य शाखाले जनाएको हो । शिविरमा विमारीको चाप अत्यधिक भएपछि शल्यकृया समय थप गरिएको थियो ।
शिविरमा छिमेकी देश भारतको सितामणी जिल्लाका विभिन्न गाउँबाट समेत विमारी आएका थिए । शिविरमा शल्यकृया गरिएका केही विमारीको आँखाको पट्टि बिहिवार हटाईने चिकित्सकहरुले जनाएका छन् । शिविरमा एकै दिन १ सय ५१ जना सम्मको आँखाको शल्यकृया गरिएको थियो । चिकित्सकहरुले जनाएका हुन् । शिविरमा भरतपुर आँखा अस्पतालकी नेत्र रोग बिषेशज्ञ चिकित्सक पुष्पा गिरीको नेतृत्वमा टोली खटिएको थिए ।
शिविरमा आँखाको शल्यकृया पछि आँखाको ज्योती फर्किएको भन्दै बृद्ध बृद्धाहरुले खुशी ब्यक्त गरेका थिए । विपन्न समुदायका ब्यक्तीहरु खर्च अभाव तथा बृद्ध बृद्धाहरु अस्पताल पुग्न नसेकेर मोतियाबिन्दुको समस्या भोग्न बाध्य छन् । यस अवस्थालाई ध्यान दिदै गाउँघरमै बिषेशज्ञ चिकित्सक सहितको शिविर संचालन गरिएको इश्वरपुर आँखा अस्पतालका उपाध्यक्ष प्रकाश मैनालीले जानकारी दिए ।