काठमाण्डौ–नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ५१ जनालाई ठगेको आरोपमा सर्लाहीका एक ब्यक्तीलाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोगमा ठगी आरोपी सर्लाही साविक जानकीनगर गाविस–७, का कोमलराज उपाध्यायलाई पक्राउ गरेको हो । उन्लाई यूएईबाट पक्राउ गरेर नेपाल ल्याएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।
सीआईबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले ठगी आरोपमा अदालतबाट उपाध्याय विरुद्ध पक्राउ पुर्जी जारी भएकाले यूएईमा पक्राउ गरेर सम्बन्धित मुद्दामा कारबाही गर्ने÷गराउने प्रयोजनार्थ शुक्रबार नेपाल ल्याइएको जानकारी दिए । उनीविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरोमा ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ ।
लगतै प्रहरीले अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउका लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७९ वैशाख २७ गते रेड नोटिस जारी गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक अधिकारीले बताए ।
प्रहरीका अनुसार उपाध्यायले सेक्युरिटीमा आकर्षक तलब र सुविधासहितको रोजगारी दिने प्रलोभन देखाई भिजिट भिसा मार्फत दुबई बोलाएको तथा रोजगारीको लागि भन्दै आफूहरूबाट रकम लिएको तर भने बमोजिम रोजगारीमा नलगाई ठगी गरेको भन्दै ५१ जनालाई ठगी गरेका थिए ।