सर्लाही– अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार आयोगले सर्लाहीको लालबन्दीकी आश्रम संचालक भवानी कोईरालालाई सम्मान गरेको छ ।
आईतवार अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोगले कोईरालालाई नगद ५० हजार राशीको पुरस्कार सहित स्व. दयाराम परियार स्मृति पुरस्कार, २०८० बाट सम्मानित गरेको हो । कोईरालाले आश्रम संचालन मार्फत मानव अधिकारको क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै आयोगले सम्मान गरेको हो ।
विश्वव्यापी घोषणापत्र जारी भएको ७५ औं वर्ष पुगेको उपलक्ष्यमा आयोगले औपचारिक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दहाल(प्रचण्ड)ले कोईरालालाई सम्मान पत्र प्रदान गरे । कार्यक्रममा आयोजक राष्ट्रिय मानव अधिकार आयोग, नेपालका अध्यक्ष तप बहादुर मगर, प्रवक्ता डाक्टर टीकाराम पोख्रेल लगायतको आतिथ्यता रहेको थियो ।
कोईरालाले आश्रम संचालनबाट मानव अधिकार रक्षाको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोगले जनाएको हो । कोईराला लालबन्दी नगरपालिका–१, जुटपानीमा रहेको पद्म भृवनेश्वरी नमुना बृद्ध सेवा आश्रमको ब्यवस्थापक तथा संचालन हुन । यस सम्मानले आफुलाई थप जिम्मेवारी बोध गराएको उनको प्रतिकृया थियो ।
कोईरालाकै पिता नेपाली कांग्रेसका पुराना नेता बाशुदेव शरण कोईरालाले आफ्नो जग्गा दान गरेर सुरु गरेको उक्त आश्रम उनैको संरक्षकत्वमा संचालन भईरहेको छ । उक्त आश्रममा अहिले बृद्ध, बृद्धा तथा बालबालिका समेत गरेर ४५ जनाले आश्रय लिईरहेका छन् ।