बागमती–सर्लाहीको बागमती नगरपालिका स्थित विभिन्न स्थानमा रहेका स्वास्थ्य संस्थाहरुको अनुगमन गरिएको छ ।
बागमती नगरपालिका स्वास्थ्य शाखाले नगर भित्र संचालनमा रहेका स्वास्थ्य संस्थाहरुको अनुगमन गरेको जनाएको छ । नगर स्वास्थ्य शाखाको टोलीले पालिका भित्र संचालनमा रहेको औषधी पसल, अस्पताल, पोलीक्लिनिक तथा क्लिनिकहरुको अनुगमन गरेको नगर स्वास्थ्य शाखा प्रमुख पद्म रायमाझीले जानकारी दिए ।
शाखाका अनुसार बागमती नगरपालिका क्षेत्रमा मात्र ३३ वटा औषधी पसल, एउटा अस्पताल, ३ वटा पोलिक्लिनिक संचालनमा रहेको फेला परेको छ । त्यस मध्य ८ वटा औषधी पसलले मात्र औषधी ब्यवस्था विभागबाट अनुमती लिएको पाहिएको छ । भने, तिन वटाले स्थानीय तहबाट ब्यवसाय संचालन अनुमती लिएका थिए ।
यस्तै २० वटा औषधी पसलले अनुमतीनै नलिईकन संचालन गरिरहेको पाहिएको हो । उनीहरुलाई तत्काल सम्बन्धीत निकायमा दर्ताहुन सचेत गराईएको स्वास्थ्य शाखा संयोजक रायमाझीले बताए । नगर स्वास्थ्य शाखाले स्थानीय सरकार संचालन ऐनले तोकिएको अधिकार अनुसार स्वास्थ्य संस्थाहरुको अनुगमन गरिएको नगरले जनाएको छ ।
अनुगमनका क्रममा औषधी पसल, अस्पताल, पोलीक्लिनिक तथा क्लिनिक संचालकहरुलाई १८ भन्दा धेरै प्रश्नको जवाफ सहित फारम भरार्ईको थियो । अनुगमनको क्रममा नगरका केही औषधी पसलेहरु पसल बन्द गरेर फरार भएका थिए । औषधी विक्री वितरण तथा उपचार प्रकृयालाई ब्यवस्थित बनाउन अनुगमन सुरु गरिएको बागमती नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।