बागमती-सर्लाहीको बागमती नगरपालिकामा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तरगत सुत्केरी महिलालाई बाख्रा वितरण गरिएको छ ।
मंगलवार बागमती नगरपालिका–११, स्थित फनपार्कमा एक औपचारिक कार्यक्रमको आयोजना गरी बाख्रा वितरण गरिएका नगर स्वास्थ्य शाखाले जनाएको हो । कार्यक्रम अन्तरगत स्थानीय शासन प्रवर्धनका लागि पोषण अवस्था सुधार गर्न विपन्न समुदायका सुनौलो हजार दिनका आमाहरुलाई एक/एक वटा बाख्रा वितरण गरिएको हो ।
कार्यक्रमकी प्रमुख अतिथि बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तानले ३० जना आमाहरुलाई बाख्रा हस्तान्तरण गरिन् । बाख्रा वितरणबाट विपन्न सुत्केरी आमाहरुले केही मात्रामा भएपनि आयआर्जन गर्नसक्ने र पोषणयूक्त खानेकुराको प्रवन्ध गर्न सहज हुने उपमेयर मोक्तानले बताईन् । बाख्रा पाएका आमाहरु समेत खुसी देखिएका थिए ।
उपमेयर लिला कुमार मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बागमती–११, का वडाध्यक्ष प्रदिप आचार्य, सदस्य आईत बोट, स्वास्थ्य शाखा प्रमुख पदम रायमाझी, सहसंयोजक आनन्दमोहन झा, महिला स्वास्थ्यकर्मी मुना रानाभाट, पोषण स्वयमसेवक अम्बिका अधिकारी, पशु शाखा संयोजक हरि खड्का लगाएतको आतिथ्यता रहेको थियो ।