सर्लाही–जिल्ला प्रशासन कार्यलय सर्लाहीले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ ।
मंगलवार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यलयले सार्वजनिक स्थानमा सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन, २०६८ बमोजिम धुम्रपान तथा सुर्तिजन्य पदार्थ प्रयोगमा निषेध गरेको जनाएको हो । गृह मन्त्रालयबाट भएको परिपत्र अनुसार जिल्लामा सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थको प्रयोगमा कडाईका साथ निषेध गरिएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए ।
यस किसिमको कार्यक्रमले समाजमा धुम्रपान नियन्त्रण तथा सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थ प्रयोगमा निरुत्साहित र पुर्ण नियन्त्रणमा सहयोग पुग्ने सूचनामा उल्लेख छ । प्रशासन कार्यलयले यस्ता गतिविधिमा संलग्नहरुलाई जरिवाना लगाएतको कार्वाही गरिने समेत जनाएको छ । सार्वजनिक स्थलमा धुम्रपान तथा सुतिजन्य पदार्थको प्रयोग नियन्त्रणमा सहयोग पुर्याई दिन समेत जिल्ला प्रशासन कार्यलयले आग्रह गरेको छ ।
यस्तै ऐनमा सार्वजनिक स्थल भनेर राज्य वा सरकारी निकाय, संस्था वा कार्यलय, शिक्षण संस्था, स्वास्थ्य संस्था, विमान स्थल, बायूसेवा, सार्वजनिक यातायात, सार्वजनिक शौचालय, औद्योगिक कार्यस्थाल लगाएतलाई तोकेको छ । होटल, रेष्टुरेण्ट, धार्मिक स्थल, आश्रम, बालउद्यानहरु, सार्वजनिक स्थल टिकट काउण्टर, सिनेमा घर लगाएतको स्थानमा समेत धुम्रपान र सुर्तिजनय पर्दाको प्रयोग बर्जित गरिएको छ ।