बागमती–सर्लाहीको बागमतीमा मधेश प्रदेशकै पहिलो ‘स्काई साईक्लिनिङ’ उद्घाटन गरिएको छ ।
सोमबार बागमती नगरपालिका स्थित भरत ताल परिसरमा तयार पारिएको स्काई साईक्लिङको उद्घाटन गरिएको हो । स्काई साईक्लिङको बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, मधेश प्रदेश सांसद जवाहरलाल कुशवाह र समिर भट्टराईले सम्यूक्त रुपमा उद्घाटन गर्नुभयो ।
यो सगैँ अब भरत ताल नामले चर्चित बागमती माछा पोखरीमा ‘स्काई साईक्लिनिङ’ को मज्जा समेत लिन सकिने भएको हो । ताल किनारमा निर्माण भएको ‘स्काई साईक्लिनिङ’ औपचारिक रुपमा संचालन गरिएको संचालक बागमती ईन्टरटेनमेन्टका प्रमुख गौतम खड्काले जानकारी दिनुभयो ।
तारको लठ्ठामा झुण्डिएको साईकल चलाउनु निकै साहसिक खेलको रुपमा मानिन्छ । मनोरन्जन सगैँ साहसिक खेलको रुपमा लिईने यस ‘स्काई साईक्लिनिङ’ पछिल्लो समय साहसिक खेलका पारखीहरुको रोजाईको रुपमा समेत विकास हुदै गएको छ । यसले ताल परिसरमा थप पर्यटक आकर्षित हुने अपेक्षा गरिएको छ ।
भरत ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको समेत आकर्षणको केन्द्र बन्दै गएको छ । यस ‘स्काई साईक्लिनिङ’ जमिन सतह देखी ३७ फिट उचाईमा, २ सय १३ फिट लामो रहेको बागमती ईन्टरटेनमेन्टले उल्लेख गरेको छ । पर्यटकको मनोरञ्जन तथा सयरका लागि भरत तालमा तिन दर्जन मोटर बोट र एउटा मिनि क्रुज समेत संचालनमा छ ।
८५ लाख लागतमा निर्माण सम्पन्न भएको यस ‘स्काई साईक्लिनिङ’ मा दुईवटा रोप लाईनबाट एक पटकमा तिन जना सम्मले साईकल चलाउन सक्ने ब्यस्था गरिएको छ । नगरको पहिचानका रुपमा रहेको भरत ताल पर्यटन, पर्यावरण, रोजगारी सगैँ नगरको आर्थिक उपार्जनको माध्यम बन्दै गएको छ ।