सर्लाहीको ईश्वरपुर र चन्द्रनगरमा भएको दुई छुट्टाछुटै घटनामा परि दुई बालबालिकाको ज्यान गएको छ ।
बिहीबार ईश्वरपुर नगरपालिकामा करेन्ट लागेर एक बालकको र चन्द्रनगर गाउँपालिकाको पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको हो । घटनामा ईश्वरपुर नगरपालिका–१५, बस्ने श्याम दासका छोरा वर्ष १२ का आशिषकुमार दासको आफ्नै घरको पङखामा रहेको तार छुँदा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको हो ।
दिउँसो घरमै करेन्ट लागेर घाइते बालकलाई गाउँकै एक क्लिनिकमा सामान्य उपचार गरी लालबन्दी स्थित मोडेल अस्पतालमा ल्याईपु¥याए पछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
यस्तै, चन्द्रनगर गाउँपालिका–२, बबरगञ्जमा नुहाउनेक्रममा पोखरीमा डुबेर गोडैता नगरपालिका–६, बगदह बस्ने अमरेश पटेलकी छोरी वर्ष ११ की गुञ्जन पटेलको ज्यान गएको हो । मामाघर आएकी बालिकाको दिउँसो स्थानीय रामप्रसाद सिंह दनुवारको पोखरीमा नुहाउने क्रममा डुबेको प्रहरीले जनाएको हो ।
गुञ्जन केही समय देखी मामाघर चन्द्रनगर गाउँपालिका–४ स्थित अनुरोध पटेलको घरमा बस्दै आएकी थिईन् । उनी दिउसो हजुरबुवा दुःखा राउत र हजुर आमासँगै उक्त पोखरीमा कपडा धुन र नुहाउन पुगेको समयमा डुबेको प्रहरीले जनाएको हो ।
बालबालिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्वा पठाइएको इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए । लालबन्दीमा बिहान मात्रै ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको थियो ।