बागमती–सर्लाहीको बागमती नगरपालिकामा बसोवास गर्ने विपन्न चेपाङ परिवारलाई संविधान सभा सदस्य नरेन्द्र साहले कम्वल वितरण गरेका छन् ।
शुक्रवार बागमती नगरपालिका–४, स्थित चेपाङ बस्तीका ३० परिवारलाई सांसद साहले आफ्नो ब्यक्तिगत खर्चबाट कम्बल वितरण गरेका हुन् । सांसद साहले पठाएको कम्बल बागमती नगरपालिकाकी उप मेयर लिला कुमार मोक्तानको प्रमुख आतिथ्यतामा वितरण गरिएको नगरका कम्प्युटर अपरेटर सन्तोष गदालले जानकारी दिए ।
जिल्लामा पछिल्ले केही दिन यता बढेको चिसोका कारण विपन्न चेपाङ परिवार समेत कठ्याग्रियका थिए । उनीहरुलाई थोरै भएपनि राहत पुर्याउने गरी संविधान सभा सदस्य तथा नेकपा माओवादी नेता समेत रहेका साहको सहयोगमा तत्काल ३० परिवारलाई न्यानो कम्बल वितरण गरिएको उपमेयर मोक्तानले बताईन् ।
संविधान सभा सदस्य यस क्षेत्रका पराजित सांसद हुन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा गठवन्धन दल माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका उनी झिनो मतान्तरले पराजित भएका थिए । चुनाव नजिते पनि उन्ले जनताको मन जितेका स्थानीय राजु चेपाङले बताए ।
केही समय अघिमात्र पारजित भएर गएका भएपनि यहाँको नागरिको दुखमा मलम बनेर आएको भन्दै स्थानीयले साहको कार्यको प्रशंसा गरेका थिए । साह सामाजिक क्षेत्रमा निकै सकृय रहदै आएका छन् ।