सर्लाही—महोत्तरी प्रहरीले बर्दिवासबाट स्वस्तिक छाप लगाएको मतपत्र सहित भारतीय नम्बर प्लेटको गाडी नियन्त्रणमा लिएको छ ।
शुक्रबार साँझ बर्दिवास नगरपालिका–३ स्थित गौरीडाँडाबाट स्वस्तिक छाप लगाएको मतपत्र बोकेको एच आर ३६ एस ५४७१ नम्बरको भारतीय गाडी नियन्त्रणमा लिइएको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले जानकारी दिए । एसपी पंगेनीका अनुसार बरामद मत पत्रको सूर्य चिह्नमा स्वस्तिक छाप लगाएको पाहिएको छ ।
शंका लागेर चेकजाँचको क्रममा २ सय ६२ थान नमुना मतपत्र फेला परेपछि गाडी नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो । गाडी इलाका प्रहरी कार्यालय बर्दिवासको नियन्त्रणमा रहेको प्रहरी प्रमुख पंगेनीले जानकारी दिए । मौन अवधिमा आचार संहिता विपरीत चुनावी प्रचारका सामग्री लिएर हिँडेको गाडी र चालकलाई निर्वाचन कार्यालयमा कारबाहीका लागि सिफारिस गरिने समेत एसपी पंगेनीले जानकारी दिए ।