सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसले नपत्याएका नेता डाक्टर अमरेश कुमार सिंहलाई जनताले पत्याएका छन् । पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका डाक्टर सिंह गठवन्धनबाट उम्मेदवार बनेका कांग्रेसका उम्मेदवारलाई पाखा लगाउदै विजयी भएका हुन् ।
स्वतन्त्र उम्मेदवार बनेका सिंहले २० हजार १७ मत प्राप्त गरे । उनले गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका कांग्रेसका नागेन्द्र रायलाई एक हजार ७६४ मतले हराए । रायले १८ हजार २५३ मत पाए । चर्चामा रहेकी अर्की उम्मेदवार मधुमालाकुमारी यादवले १४ हजार ६२२ मत प्राप्त गरिन् ।
उनी माओवादी केन्द्रका नेता शिवपुजन यादवकी छोरी हुन् । गठबन्धनका उम्मेदवारविरुद्ध छोरीलाई बागी उठाएको भन्दै यादवलाई माओवादीले कारबाही गर्दै पार्टीबाट निष्कासन गरिसकेको छ । सिंह ०७४ मा पनि यही क्षेत्रबाट विजयी भएका थिए । त्यसवेला उनी कांग्रेसबाट उम्मेदवार थिए ।
यस पटक पार्टीको क्षेत्रीय र जिल्ला कमिटीले उनको नाम सिफारिस गरेको थिएन । जिल्ला कमिटीले कांग्रेस महामन्त्री गगनकुमार थापालाई यस क्षेत्रबाट चुनाव लड्न भन्दै सिफारिस गरेको थियो । महामन्त्री थापाले काठमाडौंबाटै उम्मेदवारी दिने भएपछि अन्तिममा पार्टीले नागेन्द्र रायलाई टिकट दिएर पठाएको थियो ।
लगतै डा. सिंहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । उनलाई पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिसकेको छ ।