बागमती–सर्लाहीको बागमतीको राजघाटमा जारी प्रदेश स्तिरीय चौँथो राजघाट कप फुटवलमा हिरापुर र सुनौलो बिहानी विजयी भएको छ ।
बिहिवार सम्पन्न दुई खेलमा हिरापुर युवा क्लव बरहथवा र सुनौलो बिहानी युवा क्लव विजयी भएका छन् । बागमती–६, लालबहादुरटोल खेल मैदानमा सम्पन्न पहिलो खेलमा हिरापुर युवा क्लव बरहथवा २–० गोल अन्तरले विजयी भएको हो । हिरापुर युवा क्लवले बागमती–३, धरहराको अन्नपुर्ण युवा क्लवलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
निकै प्रतिष्पर्धात्मक बनेको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका हिरापुरका खेलाडि नारायण खड्का खेलको म्यान अफ दि म्याच घोषित हुदै ट्रफी चुम्न सफल भए ।
यस्तै प्रतियोगिताको दोस्रो खेलमा सुनौलो विहानी युवा क्लव विजयी भएको छ । ढल्केवर युवा क्लव ढल्केवरलाई २–१ गोल अन्तरले पराजित गर्दै सुनौलो विहानी युवा क्लव विजयी भएको हो । खेलको दोस्रो हाफमा गोल गर्दै खेलमा फर्कन ढल्केवरका खेलाडिले गरेको प्रयास असफल भएपछि पराजित भयो ।
यस प्रतियोगितामा सुनौलो बिहानी क्लवका खेलाडि दिनेश थापा म्यान अफ दि म्याच घोषित हुदै ट्रफी चुम्न सफल भए । आयोजक क्लवका अनुसार शुक्रवार पहिलो खेलमा घुर्कौली युवा क्लव हरिवन र सेभेन स्टार युवा क्लव बरहथवा तथा दोस्रो खेलमा हरिवन युवा क्लव हरिवन र सगरमाथा यूवा क्लव चपुर विच प्रतियोगिता हुने भएको छ ।
खेलको माध्यमबाट राजघाटको पहिचान देश विदेश सम्म फैलाउने र स्थानीय युवाहरुलाई खेल प्रति आकर्षित गर्न बर्षेनी प्रतियोगिता आयोजना गर्दै आएको क्लवका अध्यक्ष कृष्ण वाईबाले बताए । प्रतियोगितामा सर्लाही सहित रौतहट, बारा र धनुषाका समेत गरी १६ वटा टिमले भाग लिएका छन् ।
कात्तिक १४ गते फाईनल हुने खेलका विजेताले १ लाख १ हजार १ सय ५१ रुपैया र उपबिजेता टोलीले ५१ हजार १ सय ५१ रुपैया शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक क्लवले जनाएको हो ।