मलंगवा-सर्लाही सदरमुकाम मलंगवा नगरपालिका स्थित शिवसागर चोकमा स्कारपियोको ठक्करबाट बालकको ज्यान गएको छ ।
सोमबार मलंगवा नगरपालिका–४, शिवसागर चोकमा ना १ झ १७०० नम्बरको स्कारपियोको ठक्करबाट ईश्वरपुर नगरपालिका–१४, बस्ने हिरालाल मण्डलको अन्दाजी ३÷४ बर्षको छोरा निशान्त कुमार मण्डलको मृत्यु भएको हो । मलंगवा–नवलपुर सडक खण्ड अन्तरगत शिवसागर चोकमा दिउसो स्कारपियोले बालकलाई ठक्कर दिएको थियो ।
स्कारपियोको ठक्करबाट गम्भीर घाईते भएका बालकको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । बालकलाई उपचारको लागि अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा संलग्न स्कारपियो जिल्लाको चक्रघट्ट गाउँपालिका कार्यलयको नाममा दर्ता रहेको प्रहरीले जनाएको छ ।
घटना लगतै स्कारपियो र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरीका सूचना अधिकृत एवं प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए । बालकको सव परिवारको जिम्मा लगाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।