सर्लाही-आशन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आह्वान भएको म्यादी प्रहरीमा ७ हजार बढिले फारम दर्ता गराएका छन् ।
जिल्ला प्रहरी कार्यलय सर्लाहीका अनुसार आवेदन खुलेको एक हप्तामा ७ हजार २ सय २० जनाले आवेदन दिएका हुन् । गत भदौ ३० गतेबाट असोज ६ गते बिहिवार सम्मको लागि आवेदन दिने समय तोकिएको थियो । आवेदन दिन चाहनेहरुले भोली साझ ५ बजे सम्म आवेदन दिन सक्ने जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।
कार्यलयको विवरण अनुसार हाल सम्म जिल्लामा १४ सय ५५ जना महिला र ६ हजार दुई सय ६५ जना पुरुषको आवेदन परेको छ । नेपाल सरकार गृह मन्त्रालयले गत भदौ २६ गते सूचना जारी गरेर १८ बर्ष पुराभई ५४ बर्ष ननाघेका नेपाली नागरिकलाई रितपुर्वक फारम भर्न आह्वान गरेको थियो ।
मन्त्रालयले म्यादी प्रहरी हुनका लागि नैतिक पतन देखिने गरी फौजदारी अभियोग नभोगेको, कुनै राजनीतिक दलको सदस्य नरहेको, शारीरिक र मानसिक रुपले तन्दुरुस्त रहेको, आतंककारी संगठनको सदस्य नरहेको, सामान्य लेखपढ गर्न जान्ने र महिलाको हकमा गर्भवती नरहेको हुनुपर्ने उल्लेख गरेको थियो ।
सर्लाहीमा दैनिक हजारको हाराहारीमा आवेदन परेको तथ्यांकले देखाएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यलय सर्लाहीले निष्पक्ष ढंगले परिक्षा लिएर छनौट हुने भएकोले कोही कसैको बहकाउमा नपर्न सचेत गराएको छ । कोही कसैले म्यादी प्रहरी भर्नाको नाममा कुनैपनि किसिमका ठगी धन्दा चलाएको थाहाँ पाए तत्काल प्रहरीलाई खवर गर्न जिल्ला प्रहरीका प्रमुख एसपी प्रविण पोखरेलले आग्रह गरे ।
यसैविच हाल सम्म मधेश प्रदेशमा ५८ हजार ६ सय ८८ जनाको आवेदन परेको प्रदेश प्रहरी कार्यलय जनकपुरले जनाएको छ । त्यस मध्य १० हजार ८ सय ४८ जना महिला र ४७ हजार ८ सय ४० जना पुरुषले आवेदन दिएका छन् । तथ्यांकका अनुसार सबैभन्दा धेरै बारा जिल्लामा ९ हजार ४ सय ५२ र सबै भन्दा कम सिरहामा ६ हजार १ सय २५ जनाको आवेदन परेको छ ।
यसमा केही थपिन सक्ने उनीहरुको आंकलन छ । भोली बिहिवार एक दिन आवेदन लिने दिन बाँकी रहेकोले केही उमेदवार बढ्न सक्ने आशंका गरिएको छ । आउदो मंसिर ४ गते हुने निर्वाचनको लागि देश भरीबाट १ लाख १५ हजार म्यादी प्रहरी माँग भएको छ । असोज ९ गतेदेखि १४ गतेसम्म छनौट सुरु हुने छ । असोज २५ गते अन्तिम नतिजा सार्वजनिक गर्ने र असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म तालिम दिइने छ ।
सेवा सुविधा कती ?
४० दिन सम्म चुनावी सुरक्षामा खटिने म्यादी प्रहरीले प्रति दिनको ८ सय ६९ रुपैयाका दरले एकमुष्ट ३४ हजार ७ सय ६० रुपैया तलव प्राप्त गर्ने छन् । खाध्यन्न प्रति ब्यक्ति ७ हजार २ सय, पोशाक तथा अन्य सामान खर्च ६ हजार, खटिएको ठाँउ सम्म आउने जाने १ हजार र दिनको ३ सयको दरले ४ दिनको खाजा खर्च प्राप्त गर्ने उल्लेख छ ।