बिषालु सर्पको डसाईबाट सर्लाहीमा एक महिलाको ज्यान गएको छ ।
हरिवन नगरपालिका–११, बालुवाटार बस्ने ३५ बर्षकी श्याम कुमारी महतोको गोमन सर्पको डसाईबाट ज्यान गएको प्रहरीले जनाएको हो । महतोलाई सोही स्थानका भिम प्रसाद दहालको घरमा लेवरको काम गर्ने क्रममा शुक्रवार अबेर सर्पले डसेको थियो ।
लगत्तै लालबन्दी नगरपालिका–१, नवलपुर स्थित सर्प दंश उपचार केन्द्र पु¥याएको आफन्तले जनाएका छन् । त्यहाँ उपचार सम्भव नभएपछि महतोलाई प्रादेशिक अस्पताल जनकपुर रिफर गरिएको थियो । उनको जनकपुरमा उपचारकै क्रममा गएराती ज्यान गएको जिल्ला प्रहरी कार्यलय सर्लाही जनाएको छ ।
तराईको जिल्ला सर्लाहीमा गर्मी अत्यधिक भएको समयमा बिषलु सर्पको बिगबिगी हुनेगरेको छ । यस्तो बेलामा सर्पदंशका विमारी समेत अत्यधिक हुनेगरेका उपचार केन्द्रहरुको तथ्यांकमा उल्लेख छन् । जिल्लामा बर्षेनी सयौँलाई बिषालु सर्पले डस्ने गरेको छ । त्यस मध्य समयमै उपचार नपाउदा तथा उच्चस्तरको उपचारको अभावमा धेरैले ज्यान गुमाउनु परिरहेको छ ।
गोमन जस्ता बिषालु सर्पले डसेका बिरामीलाई तत्काल भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने चिकित्सकहरुको भनाई छ । अन्यथा बिमारीलाई बचाउन मुस्किल हुने गरेको नवलपुर स्थित सर्पदंश उपचार केन्द्रका चिकित्सकले बताए । तर, जिल्लामा भेन्टिलेटर सहितको उपचार केन्द्र नवलपुरमा मात्र छ ।
त्यसमा पनि भेन्टिलेटर संचालन गर्ने दक्ष जनशक्तिको अभावमा लामो समय देखी मेसिन काम आउन सकेको छैन् । सर्पदंशका विमारीहरुले भेन्टिलेटर हेरेरै ज्यान गुमाउनु पर्ने बाध्यता रहदै आएको स्थानीय बताउछन् ।