१४ साउन, काठमाडौं । १२ वर्षअघि गुरुकुलमा मञ्चित नाटक ‘पानीफोटो’ हेर्दा दिमाग हल्लिएको थियो । त्यसबेला दुईटा कुरा मेरो मस्तिष्कमा फिल्मको रिलजस्तै घुमिरहे । पहिलो– रिपोर्टिङ दौरान सशस्त्र द्वन्द्वमा बेपत्ता भएकाका परिवारको पीडा र प्रियजन फर्कने आशामा टोलाइरहेका आँखालाई अनुभूति गर्दाको मर्मस्पर्शी क्षण ।
दोस्रो– ‘मान्छेलाई ‘भ्रम’मा रमाउन मीठो लाग्छ । जब वास्तविकतामा फर्कने प्रयास गर्छ, तब उसलाई पीडा हुन्छ’ भन्ने इटालेली दार्शनिक ज्या पार्ल सात्रको चर्चित कथन । यसले एकजना चिनेको दिदीको स्मरण गराउँछ जसको श्रीमानलाई द्वन्द्वमा बेपत्ता पारियो । पति आउने आशामा ती दिदी अहिले पनि रातो सारी र सिन्दुरमै सजिन्छिन् । लाग्छ श्रीमान चाँडै आउनेछन् र उनलाई अँगाल्नेछन् ।
त्यसयता कालीगण्डकीमा धेरै पानी बगिसक्यो । न ती दिदीका श्रीमान फर्किए न उनले न्याय नै पाइन् । बरु, संक्रमणकालीन न्याय झनै गिजोलिएको छ । शान्ति प्रक्रिया निष्कर्षमा पुग्न सकेको छैन र बेपत्ता पारिएकाका परिवार प्रियजन फर्कने आशामा दोबाटो कुर्दैछन् ।
१२ वर्षपछि त्यही ‘पानीफोटो’ नाटकलाई फिल्ममा हेर्दा हामीले बाँचेको सबैभन्दा ठूलो ‘त्रासदी’को समय याद आउँछ । हलमा सुपरहिरो र रोमान्टिक फिल्मको दबदबा चलिरहँदा खगेन्द्र लामिछाने भने द्वन्द्वको एउटा आयामलाई लिएर निर्देशकीय यात्रामा निस्किएका छन् । नेपालमा यसअघि सशस्त्र द्वन्द्वका विषयमा आधारित जति फिल्म बने ती कुनै पार्टीका एजेन्डाले थिचिएका थिए, तर, पानीफोटोले द्वन्द्वका पक्षबाट तटस्थ रहेर कथा भन्छ ।