हेटौंडा–वागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ७० अर्ब ९३ करोड ९३ लाख रुपियाँको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०७९–०८० को बजेट घोषणा गर्दै आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले उक्त बजेटको घोषणा गरेका हुन् ।
कुल विनियोजित बजेटमध्ये चालु खर्चतर्फ १९ अर्ब २ करोड ४१ लाख छुट्याइएको छ । पुँजीगत्तर्फ ४१ अर्ब ५६ करोड २४ लाख बजेट विनियोजन गरिएको छ भने वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब ३५ करोड ३७ लाख बजेट छुट्याइएको छ । वित्तीय व्यवस्थातर्फ २ अर्ब बजेट विनियोजन गरिएको मन्त्री जम्कट्टेलले घोषणा गरे । कुल बजेटमध्ये चालुतर्फ २७ प्रतिशत् र पुँजीगत्तर्फ ५८ प्रतिशत, वित्तीय हस्तान्तरणतर्फ ११ प्रतिशत् र वित्तीय व्यवस्थातर्फ २ प्रतिशत् बजेट विनियोजन भएको छ । अघिल्लो वर्ष ५७ अर्ब ७२ करोड ९ लाख २७ हजारको बजेट विनियोजन गरेको वागमती सरकारले गत आर्थिक वर्षको तुलनामा करिब १३ अर्ब बढाएर ७० अर्ब ९३ करोड ९२ लाख पु¥याएको छ ।
प्रदेश सरकारले बन तथा वातावरण मन्त्रालयलाई ३ अर्ब २३ करोड, उद्योग मन्त्रालयलाई ६५ करोड बजेट विनियोजन गरेको उनले बताए । वातावरण मन्त्रालयलाई ३ अर्ब २३ करोड बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले कानुन मन्त्रालयका लागि ८३ करोड बजेट विनियोजन गरेको छ ।
प्रदेश सरकारले प्रदेशको राजधानी हेटौंडालाई सुबिधासम्पन्न गराउन १ अर्ब ५ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९–०८० का लागि बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जम्कट्टेलले राजधानी पूर्वाधार विकास विशेष आयोजनामार्फत् हेटौंडालाई सुबिधासम्पन्न बनाउन सरकारी कार्यालय भवन, शिक्षा, स्वास्थ्य, सडकलगायत विकासका पूर्वाधार र हेटौंडा चक्रपथ निर्माण गर्न १ अर्ब ५ करोड ८० लाख बजेट विनियोजन गरिएको बताए ।
प्रदेश सरकारले प्रदेशमा ‘नमूना समाजवादी कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९–०८० को बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले ‘नमूना समाजवादी कार्यक्रम’ का लागि २५ करोड बजेट विनियोजन गरिएको बताए ।
प्रदेश सकारले किसानलाई दूधमा दिने अनुदान कार्यक्रमलाई निरन्तता दिने भएको छ । मन्त्री जम्कट्टेलले किसानलाई दूधमा प्रतिलिटर २ रुपियाँ दिने अनुदान कार्यक्रमलाई निरन्तरता र उक्त रकम बैंक खातामा जम्मा गर्ने व्यवस्था गरिने बताए । मन्त्री जम्कट्टेलले बुधबार प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९–०८० को बजेट प्रस्तुत गर्दै काभ्रेमा मिनी दुग्ध पाउडर प्लान्ट स्थापना गर्ने गरी बजेट विनियोजन गरिएको बताए । उनले यसअघि वितरण हुँदै आएका उत्पादनमा आधारित कृषि अनुदानबाहेक सबै अनुदान खारेज गर्ने घोषणा गरेका छन् । उनले प्रदेश सरकारले १ सय १९ वटै स्थानीय तहका लागि १ अर्ब ७५ करोड रुपियाँ समानीकरण अनुदान विनियोजन गरेको घोषणा गरे । प्रदेश सरकारले आगामी आवमा प्रांगरिक मल र गड्यांैला मल प्रयोग प्रोत्साहन गर्न ५ करोड ७५ लाख बजेट छुट्याइएको उनले बताए ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि ‘एक वडा–एक स्वास्थ्य क्लिनिक’ योजना अघि बढाउने भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जम्कट्टेलले प्रत्येक वडामा प्राविधिकसहित पशु स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याइने जानकारी गराएका हुन् । उनले यसका लागि आगामी वर्षलाई १८ करोड २७ लाख बजेट विनियोजन गरिएको बताए ।
प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुदृढीकरणका लागि १९ करोड बजेट विनियोजन गरेको छ । बजेटमा प्रतिष्ठानका लागि १९ करोड २ लाख ५६ हजार रुपियाँ बजेट विनियोजन गरिएको हो । विनियोजित बजेटले प्रतिष्ठानअन्तर्गत् अस्पताल स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाइ शैक्षिक कार्यक्रम र भौतिक पूर्वाधारसमेत विस्तार गरिने उल्लेख छ ।
प्रदेश सरकारले हेटौंडा अस्पताललाई २ सय बेडको बनाउने जनाएको छ । शहीद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रको सहकार्यमा अस्पतालमा मानवअंग प्रत्यारोपण सेवा सञ्चालन गरिने बजेटमा उल्लेख छ । यसका लागि ८ करोड विनियोजन गरिएको छ ।
प्रदेशका युवालाई स्वया्सेवकका रुपमा परिचालन गर्ने गरी प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । महत्वपूर्ण खेलकुद पूर्वाधार निर्माणका लागि बजेट बिनियोजन गरिएको छ । प्रदेश सरकारले दोलखाको जिरीमा मानवनिर्मित ताल निर्माणका लागि १५ करोड बजेट विनियोजन गरेको छ । मन्त्री जम्कट्टेलले दोलखाको जिरीमा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न मानवनिर्मित ताल निर्माण गर्न बजेट विनियोजन गरिएको बताए । बजेटमा सरकारले रत्ननगरमा आयुर्वेद औषधि उत्पादन केन्द्र सञ्चालन गर्न ३ करोड विनियोजन गरेको छ ।
प्रदेश सरकारले धादिङ, चितवन र मकवानपुरका सीमान्तकृत चेपाङ, बोटे र बनकरिया जातिका लागि एकीकृत बस्ती निर्माण गर्ने भएको छ । मन्त्री जम्कट्टेलले सीमान्तकृत चेपाङ, बोटे र बनकरिया जातिका लागि एकीकृत बस्ती निर्माण गर्ने कार्यक्रमका लागि ५ करोड बजेट विनियोजन गरिएको बताए ।
प्रदेशको बजेटले मिर्गौला रोगीका लागि निःशुल्क डायलाइसिसदेखि स्तन क्यान्सर स्क्रिनिङसम्मलाई समेटेको छ । प्रदेश सरकारले स्वास्थ्य संस्थामा आधुनिक औजार तथा उपकरण खरिद तथा मर्मतसम्भार र औषधिको व्यवस्थाका लागि ३८ करोड २ लाख बजेट विनियोजन गरेको छ । महिलाको स्तन क्यान्सर स्क्रिनिङका लागि मामोग्राफी मेसिन खरिद गरी निःशुल्क सेवा प्रदान गरिने भएको छ । महिलाको प्रजनन् स्वास्थ्य सम्बन्धि पाठेघर खस्ने समस्या र फिस्टुलालगायत समस्याको शिविरमार्फत् समयमै निदान र निःशुल्क शल्यक्रिया गरिने भएको छ । ‘एक विद्यालय–एक नर्स’ कार्यक्रमका लागि २८ करोड विनियोजन गरिएको छ । प्रदेशको बजेटमध्ये स्वास्थ्य मन्त्रालयमा ४ अर्ब ८९ करोड २३ लाख बजेट विनियोजन भएको छ । वागमती प्रदेशका कर्मचारीको १० लाखको सामूहिक बीमाका लागि प्रिमियमवापत्को रकम बजेटमा छुट्याइएको छ ।
युवा तथा खेलकुद मन्त्रालयका लागि १ अर्ब २२ करोड ६२ लाख बजेट विनियोजन गरिएको छ । प्रदेशले खेलकुद प्रतियोगिता र नवौं राष्ट्रिय खेलकुदका लागि ७ करोड बजेट बिनियोजन गरेको हो । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि प्रदेश सरकारले ५ करोड विनियोजन गरेको छ । प्रदेशस्तरीय खेल संघ, खेलाडी, रेफ्री तथा प्रशिक्षकको क्षमता अभिवृद्धि तथा प्रोत्साहनको लागि पनि बजेट छुट्याइएको छ ।