हेटौंडा–हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२, बनस्खण्डी शहरी स्वास्थ्य केन्द्रको आयोजनामा भएको स्वस्थ्य आमा प्रतियोगितामा शर्मिलाकुमारी घले प्रथम भएकी छन् । ३० प्रतियोगिलाई पछि पार्दै घले स्वस्थ्य आमा घोषित भएकी हुन् । प्रथम भएकी घलेले ३ हजार ५ सय बराबर पुरस्कार पाएकी छन् ।
स्वस्थ्य आमा प्रतियोगितामा गोमा सुबेदी दोस्रो, श्रृजना फुयाँल तेस्रो, करुण छतकुली चौथो र अनिता क्षेत्री सान्त्वना भए । उनीहरुलाई चरेशको थाल, कचौरा र गिलास उपहारस्वरुप प्रदान गरिएको बनस्खण्डी शहरी स्वास्थ्य केन्द्र प्रमुख जोशिका शर्माले जानकारी दिइन् ।
प्रतियोगितामा ६ महिनादेखि २३ महिनासम्मका बच्चाका आमा सहभागी भएका थिए । स्वास्थ्य व्यवहार सूचकका आधारमा ५ महिलालाई छनोट गरी पुरस्कृत गरिएको हो । प्रतियोगितामा आमाको पोषण अवस्थाको लेखाजोखा गरिएको थियो । बच्चाको खोपकार्ड, अस्पतालको जन्म प्रमाणपत्र, स्वास्थ्य बिमा कार्डलगायत कागजपत्र पनि प्रतियोगीले बुझाएका थिए ।
प्रतियोगितामा स्वास्थ्य व्यवस्थापन समिति सदस्य लीला ढुंगाना, निमित्त प्रमुख शर्मा, अनमी अनिशा ढुंगानाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा स्वास्थ्य स्वयम्सेविकाहरु मीना पराजुली, बिना शाक्य केसी, श्रृजना पण्डित, गंगा राजथला र राधा खतिवडालगायतको सहभागिता थियो ।